दुर्घटनामा ३१ को मृत्यु
Posted by nepalitaly on March 19, 2010
![]()
सुर्खेत/ठाकुरसिंह थारू, नेपालगन्ज
राजमार्ग होइन, ’यमलोक मार्ग’ बनेको कर्णाली राजमार्गमा पछिल्लोपटक बिहीबार बिहान भएको दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् भने ६ जनाको पत्तो छैन ।
कर्णाली राजमार्ग भनिए पनि सडक साँघुरो र कच्ची छ, त्यसमाथि छतमा समेत यात्रु भरेर उकालो सडकमा गुड्छन् बस । त्यहाँ जतिवेला पनि दुर्घटना हुन सक्छ, दुई वर्षअघि कर्णाली राजमार्ग खुलेयता एक सय ५० पटक साना-ठूला दुर्घटना भएका छन् । पछिल्लो दुर्घटनामा मात्र ३१ जनाको ज्यान गएको छ ।
कालिकोटबाट सुर्खेत आउँदै गरेको ना.३ख ५८६८ नम्बरको बस दैलेखको खिड्कीज्युलानजिकैको किटुचुइके भीरबाट कर्णाली नदीमा खसेको थियो । कालिकोटबाट आउँदा ३१ जनाको चलानी ल्याएको उक्त बसमा बीचबीचमा गरी ४८ जनाभन्दा बढी यात्रु चढेको अनुमान छ ।
बसको स्टेयरिङ फेल भएका कारण गाडी दुई सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । उकालोमा चढिरहेको बस एक्कासि ढलपल गर्न थालेपछि पछाडि ढुंगाको ‘ओट’ लगाउन बसमालिक झर्दै थिए । तर, उनले ओट लगाउन नपाउँदै बस सडकबाट पल्टेको थियो ।
बसमालिक दैलेख जम्मुकाँधका-४ का कृष्ण बुढा सकुशल छन् । अरू धेरैको ज्यान गएको छ, ११ जना अस्पतालमा छन् । बाँकी ६ जनाको अत्तोपत्तो छैन ।
सडकबाट सीधै नदीमा खसेको बसबाट एकजना यात्री मात्र उत्रेर घाइते अवस्थामै पौडेर बाँच्न सफल भएका थिए । ११ जनालाई उद्धार गरिएको थियो । ०६४ वैशाखदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गमा अहिलेसम्म ट्रक, ट्याक्टर र जिप गरी एक सय ५० भन्दा बढी यातायात दुर्घटना भएका छन् । तर, एकैचोटि यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो ।
कर्णालीमा ०६४ वैशाखमा यातायातका साधन पुगे पनि यो राजमार्ग वर्षका ६ महिनामात्र सञ्चालनमा आउँछ । थुप्रै ठाउँमा पहिरो जाने र भिरालो सडकका कारण यो राजमार्ग अवरुद्ध भइरहन्छ । सडकको धेरैजसो भागको चौडाइ दुई मिटरभन्दा बढी नभएकोले यातायात सञ्चालन गर्न गाह्रो भएको यातायात व्यवसायी बताउँछन् ।
खाद्यान्न संकट र रोगव्याधीका कारण मृत्युको मुखमा छट्पटाइरहेका कर्णालीवासी जोखिमपूर्ण सडक-यात्राले अहिले थप भयभीत छन् । कर्णालीवासीले राजमार्गको स्तर सुदृढीकरण, कालोपत्रे गर्नुपर्नेलगायतका माग राखिरहे पनि अहिलेसम्म राज्यले त्यसतर्फ ध्यान दिन सकेको छैन ।
मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने बताइएको छ । दुर्घटनापछि कालिकोटकी सभासद् धिरिन्द्रा उपाध्यायको नेतृत्वमा सर्वसाधारण, क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र दैलेख राकमबाट गएका प्रहरीहरू तथा स्थानीय बासिन्दा उद्धार कार्यमा संलग्न भएका थिए ।
सुर्खेतबाट गएका डा. कृष्णचन्द्र गोदारसहितको चिकित्सकको टोलीले घटनास्थलमै शव परीक्षण गर्यो ।
मृतकहरूको नामः
१) मुगाले बस्नेत
(६०) पीपलकोट-४ दैलेख
२) ओमसरा बस्नेत
(४५) पीपलकोट-४ दैलेख
३) गीताकुमारी बस्नेत
(२०) पीपलकोट- ४ दैलेख
४) विष्णु रावत
(५१) पीपलकोट- ४ दैलेख
५) प्रबल बस्नेत
(४५) पीपलकोट- ४ दैलेख
६) जयरुद्र न्यौपाने
(४२) फुकोट- ४ कालिकोट
७) हंशराज न्यौपाने
(२२) फुकोट- ७ कालिकोट
८) अति तिरुवा
(४८) फुकोट- ३ कालिकोट
९) गोमा लुवार
(२२) फुकोट- ७ कालिकोट
१०) पूर्ण लुवार
(२७) फुकोट- ७ कालिकोट
११) २ वर्षे बच्चा
फुकोट- ७ कालिकोट
१२) रुद्र न्यौपाने
(५४) फुकोट- ७ कालिकोट
१३) द्रोण गिरी
(४२) रकु- ४ कालिकोट
१४) लक्ष्मी सेजुवाल
(२०) राम्नाकोट- ५ कालिकोट
१५) आँकला खाँण
थिर्पु- १ कालिकोट
१६) ५ महिने बालिका माया थिर्पु- १ कालिकोट
१७) राजु बिटालु
थिर्पु, कालिकोट
१८) बिमबहादुर बम
मेहलमुडी- ४ कालिकोट
१९) श्रीराम चौधरी
नेपाली सेनामा कार्यरत
२०) छविलाल शर्मा
चितवन, मावि सिपखानामा कार्यरत शिक्षक
२१) गजेन्द्रनाथ योगी
सिपखाना, कालिकोट
२२) प्रदीप सार्की
सिपखाना- ७ कालिकोट
२३) मनोज सार्की
(३८) सिपखाना- १ कालिकोट
२४) अम्बिका सन्ज्याल
नानीकोट- २ कालिकोट
२५) रंगबहादुर शाही
भर्ता २, कालिकोट
२६) पदममणि शर्मा
कपिलवस्तु
२७) धनबहादुर शाही
तिलेपाटा ९, दैलेख
२८) रतनबहादुर शाही
मेहलमुडी १, कालिकोट
२९) धीर विक
फुकोट ७, कालिकोट
३०) तारा न्यौपाने
सिपखाना ६, कालिकोट
३१) कर्णबहादुर शाह
टीकापुर, नयाँबस्ती कैलाली
‘फुटेको सिसाबाट उछिट्टिएर बचेँ’
बसको फुटेको सिसाले कैलाली मसुरीयाकी १६ वर्षीया प्रेमकला बमलाई बचायो, तर उनकी दिदी र भतिजीको भने मृत्यु भयो । ‘बस पल्टँदा सिसा फुटेछ, म त्यही सिसाबाट निस्किएर बाहिर उछिट्टिएँ । खोलामा परेपछि पौडिएर बाहिर निस्किएँ,’ बमले रुँदै भनिन्, ‘अलकोला बम र आठ वर्षकी भतिजी भने बसमै च्यापिए, उनीहरूको ज्यान गयो ।’
कालिकोट थिप्रु- ४ घर भएकी दिदीलाई लिएर बसमा घर फर्किंदै थिइन् प्रेमकला । प्रेमकला पछाडिको सिटमा थिइन्, अगाडिको सिटमा दिदी र उनकी छोरी थिए । आमाछोरीको ज्यान गयो, प्रेमकला शिक्षण अस्पताल, कोहलपुरको आकस्मिक कक्षमा छिन् ।
उनीहरूले काँक्रेबिहार यातायात समितिको बसमा कोहलपुरसम्मको टिकट लिएका थिए । तर, कालिकोटबाट गुडेको तीन घन्टामा बस दुर्घटनामा पर्यो । बस चट्टानमा ठोक्किँदै करिब एक सय ५० मिटर तल कर्णाली नदीमा खस्यो ।
बस ड्याम्म ठोक्किएको आवाजसहित यात्रु सबै अगाडि हुत्तिएको उनले बताइन् । ‘हुत्तिएपछि यात्रु सबै कराए । बस ड्याङडुङ गर्दै पल्टेर नदीमा खस्यो ।’
बससँगै लगभग सबै यात्रु पानीमा डुबेका थिए, सक्ने जति बाहिर निस्किए पनि च्यापिएका धेरैको ज्यान गएको उनले बताइन् । ‘बसभित्र पनि पानी थियो, म फुटेको सिसाबाट बाहिर उछिट्टिएकी थिएँ, पौडिएर बाहिर निस्किएँ,’ उनले भनिन्, ‘तर भित्र धेरै यात्रु च्यापिएका थिए, उनीहरूको मृत्यु भयो ।’
प्रेमकलाका अनुसार कालिकोटबाट बस गुड्दा भित्र र छतमा यात्रु खचाखच भरिएका थिए । खराब सडकमा अत्यधिक यात्रु बोकेका कारण बस दुर्घटनामा परेको उनको अनुमान छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कालिकोट फुकोटका २८ वर्षीय मदनप्रसाद न्यौपाने विद्युत् प्राधिकरणको परीक्षा दिन नेपालगन्ज आउँदै थिए । तर, अहिले उनी अस्पतालमा छन् ।
उनले नेपालगन्ज आउन बुधबार नै टिकट लिएका थिए । ‘बिहान साढे ६ बजेतिर नेपालगन्जका लागि बसमा हिँडियो । म त बसमा निदाएको थिएँ । करिब ३ घन्टापछि बस चट्टानमा ठोक्कियो र म ब्युँझेँ, के भयो भन्ने बुझ्न नपाउँदै बस खोलातिर खस्यो,’ उनले भने । न्यौपानेका अनुसार बस चट्टानमा ठोक्किँदासम्म ६/७ जना मरिसकेका थिए ।
‘बस सीधै कर्णालीमा खस्यो । बससँगै म पानीमा डुबेँ । म बसको सिटमुनि परेको थिएँ । एक मिनेटसम्म पानीमा डुबिरहेँ, निस्कन सकिनँ । अलिकति पानी पनि खाएँ,’ उनले भने, ‘तर जोरबल गरेर बाहिर निस्किएँ, ज्यान जोगाएँ ।’
उनका अनुसार पानीभित्र डुबेको बसभित्रै कैयौँ यात्रु छटपटाइरहेका थिए । तर, तत्कालीन सहयोग नपाएकाले धेरैको मृत्यु भयो ।
कर्णाली-जुम्ला सडक खण्ड चार मिटर मात्र चौडा छ, त्यो पनि कच्ची । त्यही सडकमा छतमा समेत यात्रु भरेर पुराना थोत्रा गाडी चल्छन् ।
बसका चालक नम्रराज भण्डारी पनि दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनले बसको स्टेयरिङले काम नगरेपछि दुर्घटना भएको बताए । ‘स्टेयरिङले काम गर्न छोड्यो,’ उनले भने । भण्डारी पनि गम्भीर घाइते छन्, उनी धेरै बोल्न सकेनन् ।
दैलेख बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई बिहीबार दिउँसो १२ बजे श्री एयरको हेलिकोप्टरबाट शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको छ । दैलेखका विनोद थापा, मान्मा- ९ कालिकोटका ३२ वर्षीय परिलाल पाण्डे, फुकोटका मदन न्यौपाने, शिवखाना- १ का माधव उपाध्याय, थिप्रु- ४ की प्रेमकला बम, नानीकोट- २ का पवनराज सञ्जाल, सिद्धकाली बक्स गुल्मका सैनिक रोहनीलाल चौधरी, मुम्रा- ४ का खिमबहादुर केसी, छाप्रे- १ का नम्रराज भण्डारी र रासकोटका विनोद बम गम्भीर घाइते भएका कारण हेलिकोप्टरबाट कोहलपुर ल्याइएको हो ।
घाइते सबैजसोको टाउको, खुट्टा र हातमा चोट लागेको छ । तलमाथि खचाखच भरिएको बस छुटेको तीन घन्टापछि दुर्घटना भएको हो । घटनास्थल दैलेख सदरमुकामबाट एक सय ५० किलोमिटरको दूरीमा पर्छ भने सुर्खेतबाट ६ घन्टाको बाटोमा पर्छ ।
नारायणहिटीमा भने भोज
काठमाडौं/ कर्णाली नदीमा त्रासदीपूर्ण बस दुर्घटनापछि देशमा शोक छाइरहेको बेला नारायणहिटी दरबारमा भने प्रधानमन्त्री माधवकुमार नेपालले भव्यभोज गरेका छन् ।
प्रधानमन्त्री नेपालले मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका अधिकारीलाई डाकेर नारायणहिटी दरबारमा ‘स्टेट डिनर’ दिएका थिए । नारायणहिटी दरबारमा पूर्वराजा ज्ञानेन्द्र बिदा भएपछि दिइएको यो पहिलो भोज हो ।
साँझ ६ बजेबाट सुरु भएको भोजमा सयौं व्यक्ति सहभागी भएका थिए । कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना भएको उपलक्ष्यमा उनले यस्तो भोज दिएका हुन् । तर, कर्णाली राजमार्गमा भएको भयानक दुर्घटनामा ३१ जना नागरिकको मृत्यु हुँदा प्रधानमन्त्रीले कुनै शोकवक्तव्यसमेत दिएका छैनन् ।
